पहिरोको जोखिम घटाउँदै मेची राजमार्ग डबल लेनमा, करोडौँका आयोजना अघि बढ्दै
गणेश घिमिरे
साउन ८, इलाम
पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङलाई जोड्ने मेची राजमार्गलाई आधुनिक र सुरक्षित सडकका रूपमा विकास गर्ने अभियानले गति लिन थालेको छ । राजमार्ग अन्तर्गत विभिन्न सडक खण्डमा डबल लेन विस्तार, नयाँ पक्की पुल निर्माण, घुम्ती सुधार तथा पहिरो नियन्त्रणका काम एकैसाथ अघि बढेका छन् । सडक डिभिजन कार्यालय इलामका अनुसार यी आयोजना सम्पन्न भएपछि वर्षौंदेखि यात्रुले भोग्दै आएको साँघुरो सडक, जोखिमपूर्ण घुम्ती र पहिरोको समस्या उल्लेख्य रूपमा कम हुने अपेक्षा गरिएको छ । कार्यालयका प्रमुख पवन भट्टराईका अनुसार मेची राजमार्गलाई दीर्घकालीन रूपमा सुरक्षित, भरपर्दो र सहज बनाउन सडक चौडा पार्ने मात्र होइन, आधुनिक इन्जिनियरिङ प्रविधिमार्फत पहिरो नियन्त्रणलाई पनि प्राथमिकतामा राखिएको छ । इलामको धोबिधारा–मिलगोलाई सडक खण्डमा १५ किलोमिटर सडक स्तरोन्नतिको काम दुई वटा प्याकेजमा सुरु भइसकेको छ । करिब ७४ करोड रुपैयाँ लागतको यस आयोजनाअन्तर्गत सडकलाई डबल लेनमा विस्तार गरिनेछ । यसै योजनामा सानबीरे खोल्सीमा २५ मिटर लामो आरसीसी पुल निर्माण हुनेछ भने बञ्चरे गोलाई र मिलगोलाई क्षेत्रमा बारम्बार खस्ने पहिरो नियन्त्रणका लागि रिटेनिङ वाल र सोयल नेलिङ प्रविधि प्रयोग गरिनेछ । आयोजनाको निर्माण अवधि ३० महिना तोकिएको छ । त्यसैगरी इलामकै बाघखोर–राँके ९ किलोमिटर सडक खण्डको स्तरोन्नतिका लागि १० करोड ५० लाख रुपैयाँमा ठेक्का लागिसकेको छ । हाल विस्तृत सर्वेको काम भइरहेको यस योजनामा सडक चौडा बनाउने लगायतका पूर्वाधार निर्माण गरिनेछ । यसको निर्माण अवधि पनि ३० महिना रहेको छ । जोरकलश–हर्कटे १५ किलोमिटर सडक खण्डमा २५ करोड रुपैयाँ लागतमा काम भइरहेको छ ।
२४ महिनाको अवधि रहेको यस योजनाको करिब एक वर्षको काम सम्पन्न भइसकेको छ । यही आयोजनाबाट करिब ३ करोड रुपैयाँ खर्च गरी हालै ठूलो क्षति पुगेको माइखोला–राजदुवाली क्षेत्रमा पहिरो नियन्त्रणको कामसमेत अघि बडिरहेको छ । मेची राजमार्गअन्तर्गत पाँचथरको जोरपोखरी–गोपेटार ५ किलोमिटर सडक खण्डमा साढे पाँच करोड रुपैयाँ लागतमा स्तरोन्नतिको काम सुरु भइसकेको छ । यस आयोजनाको निर्माण अवधि एक वर्ष निर्धारण गरिएको छ । ताप्लेजुङतर्फ काबेली–ताप्लेजुङ २२ किलोमिटर सडक खण्डमा १० करोड रुपैयाँ लागतमा सुधार कार्य अघि बढाइएको छ । यस योजना अन्तर्गत सडकका जोखिमयुक्त घुम्तीहरू कटिङ गरी यात्रा सुरक्षित र सहज बनाइनेछ । यसैबीच इलामको दानाबारी–बेलासे सडक खण्डको बेलासे–माइखोलामा १ सय १० मिटर लामो पक्की पुल निर्माणको प्रक्रिया अघि बढेको छ । करिब २३ करोड रुपैयाँ लागत अनुमान गरिएको यो पुल निर्माण भएपछि वर्षायाममा हुने आवागमन अवरोध अन्त्य हुने विश्वास गरिएको छ । यता सन्दकपुर गाउँपालिका अन्तर्गत टोड्के झरना–फेमेगुरु सडक खण्डमा ग्राभेलका लागि २५ करोड रुपैयाँको ठेक्का लागिसकेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ । मेची राजमार्गका पहिरो प्रभावित क्षेत्रमा प्रयोग हुन लागेको सोयल नेलिङ आधुनिक भू–इन्जिनियरिङ प्रविधि हो । यस प्रविधिमा पहिरो जाने सम्भावना भएको ढिस्को वा भित्तामा स्टिलका लामो रड (नेल) गाडेर त्यसलाई कङ्क्रिट र जालीमार्फत मजबुत बनाइन्छ । यसले माटोलाई चिप्लिन नदिई स्थिर राख्ने भएकाले सडकमाथिबाट ढुंगा र माटो खस्ने जोखिम उल्लेख्य रूपमा घट्छ । विशेषगरी पहाडी सडकमा यो प्रविधि प्रभावकारी र दीर्घकालीन समाधानका रूपमा प्रयोग हुँदै आएको छ ।
मेची राजमार्ग डबल लेनमा विस्तार भएपछि इलाम, पाँचथर र ताप्लेजुङका नागरिकले सुरक्षित, सहज र छिटो यात्रा गर्न पाउनेछन् । साँघुरो सडकका कारण हुने सवारी जाम र दुर्घटनाको जोखिम कम हुनेछ भने ठूला सवारीसाधन सहज रूपमा सञ्चालन गर्न सकिनेछ । यी सबै आयोजना निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीसँग नियमित समन्वय भइरहेको कार्यालय प्रमुख भटटराईको भनाई छ । योजनाहरू पूरा भएपछि मेची राजमार्ग पूर्वी पहाडको सुरक्षित, दिगो र आर्थिक गतिविधिलाई गति दिने आधुनिक सडक सञ्जालका रूपमा स्थापित हुने विश्वास व्यक्त गरिएको छ ।
बाढीपीडितका लागि इसाई समाज इलामबाट झण्डै साडे १० लाख राहत सङ्कलन
गणेश घिमिरे भदौ २६, इलाम रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि इलामका इसाई समुदायले १० लाख ४८ हजार ५ सय १०
सहकारी क्षेत्रबाट भोटेकोशी बाढीपीडितका लागि ६ लाख ४० हजार राहत
गणेश घिमिरे भदौ २४, इलाम रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि इलामको सहकारी क्षेत्रले ६ लाख ४०
प्रतिभा पौडेलको नयाँ महाकाव्य ‘तितिक्षा’ लोकार्पण
गणेश घिमिरे भदौ १९, इलाम इलामकी कवि तथा साहित्यकार प्रतिभा पौडेलको नयाँ महाकाव्य ‘तितिक्षा’ लोकार्पण गरिएको छ । पौडेलको साहित्यिक यात्राको सातौँ
.png)





प्रतिकृया दिनुहोस