दुई दशक लामो पत्रकारितापछि राजनीतिमा पुनः सक्रिय, कांग्रेस महाधिवेशन प्रतिनिधिमा सोमनाथ सुसेलीको उम्मेद्धारी घोषणा

गणेश घिमिरे
असोज १२, इलाम 
दुई दशकभन्दा लामो समय पत्रकारितामा सक्रिय वरिष्ठ इलामका सञ्चारकर्मी सोमनाथ अधिकारी ‘सुसेली’ले नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत इलाम क्षेत्र नम्बर २ बाट खस–आर्य कोटातर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । इलाम नगरपालिका ९ निवासी उहाँ नेपाल पत्रकार महासंघ इलामका पूर्वसभापति तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका पूर्व उपाध्यक्ष अधिकारी पत्रकारिता क्षेत्रसँगै पत्रकारको हक, हित र अधिकारका विषयमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ । उहाँ नेपाल प्रेस युनियन इलामका संस्थापक समेत हुनुहुन्छ ।

अधिकारीले पत्रकारिताको दुई दशकभन्दा लामो यात्राका क्रममा विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनका समय र कठिन परिस्थितिमा समेत निरन्तर कलम चलाउनुभएको छ । द्वन्द्वकालदेखि विभिन्न आन्दोलन तथा संक्रमणकालीन अवस्थासम्म जोखिम र चुनौतीका बीच पत्रकारितालाई निरन्तरता दिँदै आउनुभएका अधिकारी पत्रकारको पेशागत अधिकार र सुरक्षाका विषयमा समेत सक्रिय रहनुभएको थियो । पत्रकारिता क्षेत्रमा लामो समय बिताउनु भएका अधिकारी पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा समेत सक्रिय हुनुभएको हो । कांग्रेसको १४ औँ महाधिवेशनमा उहाँले इलाम नगर सभापति पदमा उम्मेदवारी दिनुभएको थियो । उक्त निर्वाचनमा उहाँ पराजित हुनुभएको थियो । त्यसपछि केही समय पार्टी राजनीतिबाट टाढा रहनुभएका अधिकारी विशेष महाधिवेशनपछि भने पुनः सक्रिय हुनुभएको हो ।

कांग्रेस सभापति गगन थापाको नेतृत्वमा पार्टी अघि बढेपछि आफू पनि सक्रिय राजनीतिक यात्रामा फर्किएको उहाँले बताउनुभएको छ । पत्रकारिता र राजनीतिलाई समाज रूपान्तरणका दुई महत्वपूर्ण माध्यमका रूपमा लिँदै अधिकारीले आफ्नो लामो सञ्चार क्षेत्रको अनुभवलाई अब पार्टी संगठन र राजनीतिक माध्यमबाट समाज तथा नागरिकका मुद्दा उठाउन प्रयोग गर्ने बताउनुभएको छ । पत्रकारिता क्षेत्रमा रहँदा नागरिकका आवाज, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारका पेशागत अधिकारका पक्षमा काम गरेको अनुभवलाई राजनीतिक भूमिकामा समेत उपयोग गर्ने उहाँको भनाइ छ । नयाँ पुस्ताको सहभागिता, पार्टी संगठनको सुदृढीकरण र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणलाई प्राथमिकतामा राखेर आफू महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेको उहाँले बताउनुभएको छ । इलाम क्षेत्र नम्बर २ मा कांग्रेसको महाधिवेशन प्रतिनिधिका लागि विभिन्न समूह तथा समुदायबाट उम्मेदवारी घोषणा गर्ने क्रम बढिरहेका बेला अधिकारीको उम्मेदवारीलाई लामो समय पत्रकारिता क्षेत्रमा बिताएका सञ्चारकर्मीको राजनीतिक पुनरागमनका रूपमा समेत हेरिएको छ ।
 

प्रतिकृया दिनुहोस

खेलकुदबाट राजनीतितर्फ धनजीत मुखिया, कांग्रेस क्षेत्रीय सदस्यमा उम्मेदवारी

गणेश घिमिरे असोज १२, इलाम  इलाम नगरपालिका–४ जसबिरेका धनजीत मुखियाले नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत इलाम क्षेत्र नम्बर २ को क्षेत्रीय

फुटबल मैदानदेखि कांग्रेस राजनीतिसम्म, क्षेत्रीय सदस्यमा पूर्णबहादुर लिम्बूको उम्मेदवारी

गणेश घिमिरे इलाम, असोज ९ खेलकुद तथा सामाजिक क्षेत्रमा सक्रिय पूर्णबहादुर लिम्बू (फत्र माइला)ले नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत इलाम

कांग्रेस महाधिवेशन प्रतिनिधिमा जनकराज तिमिल्सिनाको उम्मेदवारी, सामाजिक सेवासँगै युवामाझ लोकप्रियता

गणेश घिमिरे असोज ५, इलाम  नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत इलाम क्षेत्र नम्बर २ बाट खस आर्यतर्फ महाधिवेशन प्रतिनिधिमा जनकराज

↑