६५ वर्ष माथिका नागरिकमा क्षयरोगको संक्रमण उच्च, इलाममा १ सय ६९ बिरामी पहिचान, चुलाचुलीमा सबैभन्दा धेरै संक्रमित । 

गणेश घिमिरे
असार २८, इलाम 
इलाम जिल्लामा चालु आर्थिक वर्ष २०८२÷८३ को जेठ मसान्तसम्म ६५ वर्षभन्दा माथिका नागरिकमा क्षयरोगको संक्रमण सबैभन्दा बढी देखिएको छ । जिल्लाभर १ सय ६९ जना क्षयरोगी पहिचान हुँदा उनीहरूमध्ये एक चौथाइ अर्थात् २५ प्रतिशत बिरामी ६५ वर्षमाथिका रहेको तथ्याङ्कले देखाएको छ । स्वास्थ्य कार्यालय इलामद्वारा आयोजित क्षयरोग नियन्त्रण कार्यक्रमको प्रगति समीक्षा तथा कोहर्ट विश्लेषण कार्यक्रममा कार्यालयका क्षयरोग कार्यक्रम संयोजक गोपाल बरालले चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गर्दै क्षयरोग नियन्त्रणका लागि समुदाय स्तरमै सक्रिय खोजपडताल र परीक्षणलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रस्तुत विवरण अनुसार जिल्लामा पल्मोनरी ब्याक्टेरियोलोजिकली कन्फर्म (पिबिसी) ९५ जना, पल्मोनरी क्लिनिकली डायग्नोज्ड (पिसिडी) ३९ जना र एक्स्ट्रा पल्मोनरी क्षयरोगका ३५ जना गरी कुल १६९ जना क्षयरोगी फेला परेका छन् । क्षयरोगीमध्ये पुरुष ६२ प्रतिशत र महिला ३८ प्रतिशत रहेका छन् । उमेरगत विश्लेषणमा ६५ वर्षमाथिका नागरिकमा सबैभन्दा धेरै २५ प्रतिशत बिरामी भेटिएका छन् । त्यसपछि ५५–६४ वर्ष उमेर समूहमा २० प्रतिशत, २५–३४ वर्षमा १९ प्रतिशत, ३५–४४ वर्षमा १४ प्रतिशत, ४५–५४ वर्षमा ११ प्रतिशत, १५–२४ वर्षमा ८ प्रतिशत र ५–१४ वर्ष उमेर समूहमा २ प्रतिशत बिरामी फेला परेका छन् । ० देखि ४ वर्ष उमेर समूहमा भने कुनै पनि क्षयरोगी भेटिएको छैन । स्थानीय तहगत विवरणअनुसार चुलाचुली गाउँपालिकामा सबैभन्दा बढी क्षयरोगी फेला परेका छन् । त्यसपछि माई नगरपालिका र सूर्योदय नगरपालिकामा संक्रमण उल्लेख्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यक्रममा खकारको नमुना परीक्षणमार्फत क्षयरोग पहिचान गर्ने सेवामा आवश्यक जनशक्तिको अभावका कारण चुनौती रहेको उल्लेख गरिएको थियो । स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म क्षयरोगी दुई जनाको मृत्यु भएको छ । सकारात्मक पक्ष भने उपचारमा रहेका कुनै पनि बिरामी उपचारबाट हराउने (लस्ट टु फलोअप) अवस्था नरहेको तथ्याङ्कले देखाएको छ ।

यसैबीच, जिल्लामा सञ्चालन गरिएको कृत्रिम बुद्धिमत्ता (एआई) आधारित छातीको एक्स–रे क्याम्प पनि क्षयरोग पहिचानमा प्रभावकारी देखिएको छ । पौष २०८२ देखि जेठ २०८३ सम्म सञ्चालन गरिएको अभियान अन्तर्गत ४ हजार १ सय ६ जनाको स्क्रिनिङ गर्दा ९ जना जीवाणुबाट पुष्टि भएका (पिबिसी) र २५ जना चिकित्सकीय रूपमा पहिचान भएका (पिसिडी) गरी कुल ३४ जना नयाँ क्षयरोगी फेला परेका छन् । एआई एक्स–रे अभियानमा इलाम नगरपालिकामा सबैभन्दा बढी १ हजार ४ सय २५ जनाको परीक्षण गरिएको थियो । त्यहाँ १० जना क्षयरोगी पहिचान भएका छन्, जसमा २ जना पिबिसी र ८ जना पिसिडी रहेका छन् । त्यसैगरी माई नगरपालिकामा ७ जना, चुलाचुली गाउँपालिकामा ७ जना, फाकफोकथुम गाउँपालिकामा ३ जना र सूर्योदय नगरपालिकामा ३ जना क्षयरोगी फेला परेका छन् । सन्दकपुर, रोङ, माङसेबुङ र माईजोगमाई गाउँपालिकामा एक–एक जना क्षयरोगी पहिचान भएका छन् भने देउमाई नगरपालिकामा ५ सय ८१ जनाको परीक्षण गर्दा कुनै पनि क्षयरोगी भेटिएका छैनन् ।

स्वास्थ्य कार्यालय इलामले एआई एक्स–रे प्रविधिले लक्षण नदेखिएका तथा प्रारम्भिक अवस्थाका बिरामी पहिचान गर्न महत्वपूर्ण सहयोग पुगेको जनाएको छ । कार्यालयले आगामी दिनमा पनि उच्च जोखिम समूहलाई लक्षित गर्दै सक्रिय खोजपडताल, समयमै परीक्षण र उपचारलाई अझ प्रभावकारी बनाइने जनाएको छ । सहभागीहरूले समयमै परीक्षण, जोखिम समूहको पहिचान र बिरामी खोजी अभियानलाई थप प्रभावकारी बनाउन स्थानीय तहको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिएका थिए । 
 

प्रतिकृया दिनुहोस

पहिरो नियन्त्रणका लागि इलाममा भेटीबर घाँसको नर्सरी स्थापना, मेची राजमार्गलाई प्राथमिकता

गणेश घिमिरे साउन १०, इलाम  पहिरो नियन्त्रण तथा सडक संरक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले सडक डिभिजन कार्यालय इलामले भेटीबर घाँसको

पहिरोको जोखिम घटाउँदै मेची राजमार्ग डबल लेनमा, करोडौँका आयोजना अघि बढ्दै 

गणेश घिमिरे साउन ८, इलाम  पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङलाई जोड्ने मेची राजमार्गलाई आधुनिक र सुरक्षित सडकका रूपमा विकास गर्ने

इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सरकार समक्ष सिफारिस, आपूर्ति सहज बनाउने 

गणेश घिमिरे साउन ७, इलाम मेची राजमार्गको राजदुवाली खण्ड तथा वैकल्पिक सडकमार्गहरू अवरुद्ध भएपछि उत्पन्न संकट समाधानका लागि इलाम नगरपालिकाले नगर