खेलाडीबाट व्यवसायिक रेफ्रीसम्म,  इलामका महेश खड्काको प्रेरणादायी यात्रा


गणेश घिमिरे
बैशाख २४, इलाम 
    इलाम नगरपालिका–८ का महेश खड्का अहिले इलामको फुटबल क्षेत्रमा एउटा भरोसायोग्य र परिचित नाम बनेका छन् । मैदानमा खेलाडीका रूपमा दौडिने उनी आज त्यही मैदानमा निष्पक्ष निर्णय गर्ने व्यवसायिक असिस्टेन्ट रेफ्रीका रूपमा स्थापित छन्। फुटबलप्रतिको लगाव, निरन्तर मेहनत र अनुशासनका कारण खड्काले खेलाडी जीवनपछि पनि फुटबललाई नै आफ्नो पेशा बनाएका छन् । इलामसहित पूर्वका विभिन्न जिल्लामा आयोजना हुने प्रतिष्ठित फुटबल प्रतियोगितामा उनी नियमित रूपमा असिस्टेन्ट रेफ्री (लाइनम्यान) का रूपमा देखिन्छन् । विशेषगरी इलाम गोल्डकप, महिला गोल्डकप तथा अन्य क्षेत्रीय प्रतियोगिताहरूमा आयोजकहरूको पहिलो रोजाइमा पर्ने खड्का अहिले व्यवसायिक रेफ्रीकै रूपमा परिचित छन् ।                                     

महेश खड्काको फुटबल यात्रा भने रेफ्रीबाट सुरु भएको होइन । उनी विगतमा नेपालको चर्चित मच्छिन्द्र क्लब र एपीएफ फुटबल क्लबसँग आबद्ध भएर खेलाडीका रूपमा राष्ट्रिय स्तरसम्म खेलेका थिए । खेलाडी जीवनमा उनले विभिन्न प्रतियोगिताबाट अनुभव बटुले । मैदानभित्रको त्यही अनुभवले पछि उनलाई रेफ्री बन्न सहयोग गर्यो । खेलाडी जीवनपछि उनले फुटबललाई नै निरन्तरता दिने उद्देश्यका साथ रेफ्री करिअर रोजे । सुरुमा सामान्य प्रशिक्षणबाट यात्रा थालेका खड्काले क्रमशः विभिन्न तहका रेफ्री तालिम तथा परीक्षा सफलतापूर्वक पूरा गरे। त्यसपछि उनले लाइसेन्स प्राप्त रेफ्रीको मान्यता पाएर औपचारिक रूपमा खेल सञ्चालनमा सक्रियता बढाए । फुटबलमा रेफ्रीको भूमिका अत्यन्त संवेदनशील मानिन्छ। खेलको परिणाम, अनुशासन र खेलाडीको मनोविज्ञानसम्म रेफ्रीको निर्णयले प्रभाव पार्ने भएकाले मैदानमा क्षणक्षणमा सतर्क रहनुपर्छ ।  महेश खड्काले यही जिम्मेवारीलाई व्यावसायिकता र इमानदारीका साथ निर्वाह गर्दै आएका छन् । विशेषगरी अफसाइड, फाउल वा निर्णायक अवस्थाहरूमा उनले गर्ने सन्तुलित निर्णयका कारण खेलकर्मीहरूले उनको प्रशंसा गर्ने गरेका छन् ।                             

“मैदानमा रेफ्री हुनु भनेको केवल सिटी फुक्ने काम मात्रै होइन, खेललाई निष्पक्ष र अनुशासित बनाइराख्ने ठूलो जिम्मेवारी पनि हो । कहिलेकाहीँ दर्शक, खेलाडी र दबाब धेरै हुन्छ, तर निर्णय गर्दा निष्पक्षता सबैभन्दा महत्वपूर्ण हुन्छ ” खड्काको भनाई छ । उहाँका अनुसार खेलाडी जीवनले रेफ्री बन्न निकै सहयोग पुगेको छ । “पहिले आफैं खेलाडी भएर मैदानमा पसिना बगाएकाले खेलाडीको भावना बुझ्न सजिलो हुन्छ,” खड्काले भन्नुभयो—“त्यसैले निर्णय गर्दा खेलको गति, परिस्थिति र खेलाडीको मनोविज्ञानलाई पनि ध्यान दिनुपर्छ ।” स्थानीय खेलकुदकर्मीहरूका अनुसार, महेश खड्काको सबैभन्दा ठूलो विशेषता भनेको मैदानमा देखिने शान्त स्वभाव र आत्मविश्वास हो । खेलको दबाबपूर्ण अवस्थामा पनि संयमित भएर निर्णय गर्न सक्ने क्षमता भएका कारण उनी आयोजक र खेलाडी दुवैको विश्वास जित्न सफल भएका छन् । इलाममा पछिल्लो समय फुटबल गतिविधि विस्तार हुँदै गएको छ । जिल्लामा राष्ट्रिय स्तरका प्रतियोगिता बढिरहेका बेला दक्ष रेफ्रीहरूको आवश्यकता पनि बढ्दो छ । यस्तो अवस्थामा महेश खड्काजस्ता व्यवसायिक रेफ्रीहरूले स्थानीय खेलकुद क्षेत्रलाई ठूलो टेवा पुरयाइरहेका छन् । खेल सञ्चालनलाई मात्र होइन, नयाँ पुस्तालाई रेफ्री पेशाप्रति आकर्षित गर्न पनि प्रेरणा खड्काले दिइरहनु भएको छ । हाल उहाँ फुटबल खेल सञ्चालन गरेरै परिवारको घर खर्चमा सहयोग पुरयाइरहनु भएको छ ।     नेपालमा खेलाडी वा रेफ्री पेशाबाट जीवन धान्न सहज अवस्था नरहे पनि उहाँले फुटबललाई नै आफ्नो कर्म बनाउनु भएको छ । “नेपालमा रेफ्री पेशालाई अझ व्यवस्थित र सम्मानित बनाउन आवश्यक छ,” खड्काले भन्नुभयो— “धेरै युवाहरू खेल क्षेत्रमा आउन चाहन्छन्, तर अवसर र प्रोत्साहन कम छ । राज्य र सम्बन्धित निकायले रेफ्रीहरूको क्षमता विकास र सुरक्षामा पनि ध्यान दिनुपर्छ ।” परिवारको साथ र सहयोगले आफूलाई अझ अगाडि बढ्न प्रेरणा मिलेको खड्काको भनाई छ । नयाँ पुस्ताका युवाहरूलाई अनुशासन, धैर्य र मेहनतका साथ खेल क्षेत्रमा अघि बढ्न खड्काको सुझाव छ । “खेलाडी बन्ने मात्रै होइन, प्रशिक्षक, रेफ्री वा व्यवस्थापन क्षेत्रमा पनि राम्रो सम्भावना छ,” उहाँले भन्नुभयो— “फुटबललाई माया गरेर निरन्तर लागे अवसर आफैं आउँछ ।”                 

इलाममा फुटबल संस्कृतिलाई जोगाइराख्न खेलाडी, प्रशिक्षक र आयोजकसँगै रेफ्रीहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ  यही भूमिकालाई जिम्मेवारीपूर्वक निर्वाह गर्दै आएका महेश खड्का अहिले इलामको फुटबल क्षेत्रमा व्यवसायिक, अनुभवी र भरोसायोग्य रेफ्रीका रूपमा स्थापित छन् । खेलाडीबाट रेफ्रीसम्मको उहाँको यात्रा केवल व्यक्तिगत सफलता मात्र होइन, खेलप्रतिको समर्पण र निरन्तर संघर्षको उदाहरण पनि हो । फुटबललाई पेशा, जिम्मेवारी र पहिचान बनाएका महेश खड्काको यात्रा अहिले धेरै युवा खेलप्रेमीका लागि प्रेरणाको विषय बन्दै गएको छ ।
 

प्रतिकृया दिनुहोस

इलाम नगर स्तरीय चेस प्रतियोगिता सम्पन्न, विभिन्न उमेर समूह र विधामा उत्कृष्ट खेलाडीहरू पुरस्कृत 

गणेश घिमिरे जेठ २४, इलाम  इलाम नगर बुद्धिचाल संघको आयोजनामा इलाम नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिको सहकार्यमा आयोजित इलाम नगर स्तरीय चेस

११ पटकका च्याम्पियन बादशाह सरोज रिङ आउट, धमकेदार इन्ट्रि गर्दै काजी बने चेस ‘किङ’

गणेश घिमिरे जेठ १०, इलाम      इलाममा पहिलोपटक आयोजना गरिएको फिडे मान्यताप्राप्त ‘इलाम जिल्ला स्तरीय फिडे रयापिड एण्ड ब्लिट्ज चेस

बौद्धिक खेलको केन्द्र बन्दै इलाम, जेठ ९ गते सूर्योदयमा फिडे मान्यता प्राप्त चेस प्रतियोगिता हुँदै

गणेश घिमिरे जेठ ४, इलाम  इलाममा पहिलोपटक अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे) मान्यताप्राप्त ‘इलाम जिल्ला स्तरीय फिडे रयापिडड एण्ड ब्लिट्ज चेस