११ पटकका च्याम्पियन बादशाह सरोज रिङ आउट, धमकेदार इन्ट्रि गर्दै काजी बने चेस ‘किङ’

गणेश घिमिरे
जेठ १०, इलाम 
    इलाममा पहिलोपटक आयोजना गरिएको फिडे मान्यताप्राप्त ‘इलाम जिल्ला स्तरीय फिडे रयापिड एण्ड ब्लिट्ज चेस च्याम्पियनसिप–२०८३’ ले जिल्लाको चेस वृत्तमा नयाँ तरंग पैदा गरेको छ । वर्षौंदेखि चेसमा स्थापित अनुभवी खेलाडीहरूलाई युवा पुस्ताले चुनौती मात्र दिएन, शक्ति सन्तुलन नै बदलिँदै गएको संकेत पनि दिएको छ । प्रतियोगिताको सबैभन्दा ठूलो चर्चा भने इलामका ११ पटकका जिल्ला च्याम्पियन तथा पूर्व पूर्वाञ्चल च्याम्पियन सरोज कन्दङवाको ‘रिङ आउट’ बन्यो । लामो समयदेखि इलाम चेसमा एकछत्र प्रभाव जमाएका कन्दङवाबाट फेरि उपाधि उचाल्ने अपेक्षा गरिएको थियो । तर यसपटक खेलले अप्रत्याशित मोड लियो ।                                     

रयापिड विधामा प्रति खेल १० मिनेट समय दिइएको थियो । अनुभव र रणनीतिमा अब्बल मानिएका कन्दङवा दुई खेलमा घडीको बटन थिच्नै बिर्सिए । सामान्य देखिएको यही गल्तीले उनलाई प्रतियोगिताबाट लगभग ‘रिङ आउट’ गरिदियो । समय व्यवस्थापनकै कमजोरीका कारण अनुभवी खेलाडी दबाबमा पर्दा दर्शकसमेत अचम्मित बनेका थिए । कन्दङवामात्र होइन, पूर्व जिल्ला च्याम्पियन देवी पौडेल र याम लिम्बू पनि यसपटक अपेक्षा अनुसार चम्किन सकेनन् । इलाम चेसमा दबदबा बनाउने सपना टुटेको छ । यी दुवै खेलाडी छैटौँ र सातौँ स्थानमा सीमित भए । अनुभव भन्दा गति र आत्मविश्वास हाबी भएको प्रतियोगितामा पुरानो पुस्ता केही पछि धकेलिएको दृश्य स्पष्ट देखियो । यता युवा खेलाडी अबिनास लिम्बू र सुबास राईले भने आक्रामक तथा परिपक्व खेल प्रदर्शन गर्दै सबैको ध्यान ताने । निर्णायक खेलहरूमा उनीहरूको संयमित रणनीतिले दर्शकलाई प्रभावित बनायो । अन्ततः तीर्थमान राई ‘काजी’ ले शानदार ‘इन्ट्री’ गर्दै नयाँ जिल्ला च्याम्पियनको उपाधि कब्जा गरे । लगातार स्थिर प्रदर्शन गरेका उनले अनुभवी खेलाडीहरूलाई पछि पार्दै इलाम चेसमा नयाँ युग सुरु भएको संकेत दिएका छन् । अबिनास लिम्बू दोस्रो तथा खड्ग सुब्बा तेस्रो बने । चौथो स्थानमा सुबास राई, पाँचौँमा रविन्द्र घिमिरे, छैटौँमा देवी पौडेल तथा सातौँमा याम लिम्बू रहे । विधागततर्फ पनि युवा खेलाडीहरूको दबदबा देखियो । इलाम १६ वर्षमुनि महिला समूहमा आन्वी राई प्रथम बनिन् भने सूर्योदय महिला समूहमा सूचना लाप्चा विजेता भइन् ।

सूर्योदय १६ वर्षमुनि महिला समूहमा प्रबिशा राई तथा इलाम महिला च्याम्पियनमा बिनीता राई उत्कृष्ट बनिन् । सूर्योदय १६ वर्षमुनि पुरुषतर्फ विज्ञान अधिकारी विजेता बने भने इलाम १६ वर्षमुनि च्याम्पियनको उपाधि आर्जन भण्डारीले जिते ।     सूर्योदय च्याम्पियनतर्फ शुसान्त घिमिरे प्रथम, सुगम सुबेदी दोस्रो र केशव कट्टेल तेस्रो भए । इलो १७ सयमुनि समूहमा गणेश मगर विजेता बने भने अनरेटेडतर्फ श्यामकुमार स्याम्बो च्याम्पियन भए । सरकारी कर्मचारीतर्फ सन्दीप राई उत्कृष्ट बने । ब्लिट्ज विधामा पनि प्रतिस्पर्धा निकै रोमाञ्चक बन्यो । सूर्योदयतर्फ रविन्द्र घिमिरे प्रथम, अबिनास लिम्बू दोस्रो तथा मुकुन्द ढुंगेल तेस्रो भए । इलाम जिल्ला ब्लिट्जतर्फ याम लिम्बू प्रथम बने भने तीर्थमान राई दोस्रो तथा सरोज कन्दङवा तेस्रो स्थानमा सीमित भए । प्रतियोगिता संयोजक उर्गेन बम्जनले यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादन, खेलाडी पहिचान र खेलस्तर वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनका अनुसार सूर्योदय नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी दिनमा चेसका लागि आवश्यक बजेट समेत विनियोजन गर्ने तयारी गरेको छ । जिल्ला बुद्धिचाल संघ इलामका अध्यक्ष तारानिधि घिमिरेले पछिल्लो समय इलाममा बालबालिका र युवाहरूको चेसप्रतिको आकर्षण उल्लेख्य रूपमा बढेको बताए । पहिलोपटक फिडे मान्यताप्राप्त प्रतियोगिता आयोजना हुनु इलाम चेसका लागि ठूलो उपलब्धि रहेको घिमिरेले बताए । भेट्रान खेलाडी तथा जिल्ला बुद्धिचाल संघका पूर्व अध्यक्ष याम प्रसाद लिम्बूले यस्ता प्रतियोगिता निरन्तर आयोजना भए इलामबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे ।             

इलाममै पहिलोपटक सम्पन्न फिडे मान्यताप्राप्त प्रतियोगिताले जिल्लाको खेल संस्कृति, बौद्धिक खेलप्रतिको आकर्षण र खेल पर्यटनको सम्भावनालाई थप बलियो बनाएको आयोजकको विश्वास छ । सूर्योदय नगरपालिकाको फिक्कलमा सम्पन्न प्रतियोगितामा ६४ खेलाडी सहभागी थिए । सूर्योदय नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा तथा जिल्ला बुद्धिचाल संघ इलामको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिता इलामकै पहिलो फिडे मान्यताप्राप्त चेस प्रतियोगिता हो । 
रयापिडतर्फका विजेता
इलाम जिल्ला च्याम्पियन — तीर्थमान राई
दोस्रो — अबिनास लिम्बू
तेस्रो — खड्ग सुब्बा
चौथो — सुबास राई
पाँचौँ — रविन्द्र घिमिरे
छैटौँ — देवी पौडेल
सातौँ — याम लिम्बू
इलाम १६ वर्षमुनि महिला प्रथम — आन्वी राई
सूर्योदय महिला प्रथम — सूचना लाप्चा
सूर्योदय महिला १६ वर्षमुनि प्रथम — प्रबिशा राई
इलाम महिला च्याम्पियन — बिनीता राई
सूर्योदय १६ वर्षमुनि पुरुष प्रथम — विज्ञान अधिकारी
इलाम १६ वर्षमुनि च्याम्पियन — आर्जन भण्डारी
सूर्योदय च्याम्पियन प्रथम — शुसान्त घिमिरे
सूर्योदय दोस्रो — सुगम सुबेदी
सूर्योदय तेस्रो — केशव कट्टेल
इलो १७ सयमुनि च्याम्पियन — गणेश मगर
भेट्रान च्याम्पियन — सरोज कन्दङवा
अनरेटेड च्याम्पियन — श्यामकुमार स्याम्बो
सरकारी कर्मचारीतर्फ च्याम्पियन — सन्दीप राई
ब्लिट्जतर्फका विजेता
सूर्योदय प्रथम — रविन्द्र घिमिरे
सूर्योदय दोस्रो — अबिनास लिम्बू
सूर्योदय तेस्रो — मुकुन्द ढुंगेल
सूर्योदय महिला १६ वर्षमुनि च्याम्पियन — नन्दिता राई
सूर्योदय पुरुष १६ वर्षमुनि प्रथम — अर्जुन भट्टराई
अनरेटेड च्याम्पियन — गणेश घिमिरे
इलाम जिल्ला प्रथम — याम लिम्बू
इलाम जिल्ला दोस्रो — तीर्थमान राई
इलाम जिल्ला तेस्रो — सरोज कन्दङवा


 

प्रतिकृया दिनुहोस

इलाम नगर स्तरीय चेस प्रतियोगिता सम्पन्न, विभिन्न उमेर समूह र विधामा उत्कृष्ट खेलाडीहरू पुरस्कृत 

गणेश घिमिरे जेठ २४, इलाम  इलाम नगर बुद्धिचाल संघको आयोजनामा इलाम नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिको सहकार्यमा आयोजित इलाम नगर स्तरीय चेस

बौद्धिक खेलको केन्द्र बन्दै इलाम, जेठ ९ गते सूर्योदयमा फिडे मान्यता प्राप्त चेस प्रतियोगिता हुँदै

गणेश घिमिरे जेठ ४, इलाम  इलाममा पहिलोपटक अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे) मान्यताप्राप्त ‘इलाम जिल्ला स्तरीय फिडे रयापिडड एण्ड ब्लिट्ज चेस

खेलाडीबाट व्यवसायिक रेफ्रीसम्म,  इलामका महेश खड्काको प्रेरणादायी यात्रा

गणेश घिमिरे बैशाख २४, इलाम      इलाम नगरपालिका–८ का महेश खड्का अहिले इलामको फुटबल क्षेत्रमा एउटा भरोसायोग्य र परिचित नाम बनेका छन् । मैदानमा